महासंघले भन्यो- पत्रकार र सञ्चारमाध्यमको काममा अवरोध गर्ने प्रयास

२९ असार,कञ्चनपुर-। अनलाइनखबर, हिमालय टिभी र कान्तिपुर मिडिया हाउसका कार्यालयअघि सोमबार बिहान शंकास्पद रुपमा गाडी पार्किङ गरिएको छ । कार्यालयहरू प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको हो ।
एकै समयमा उस्तै तरिकाले पार्किङ गरिएको छ । शंकास्पद तरिकाले पार्किङ गरिएपछि मिडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि तीनवटै मिडिया हाउसमा प्रहरी आएर गाडीधनीको सोधखोज गरेका छन् । कसले यस्तो गर्यो भन्ने अहिले सम्म प्रहरीले ठोस रुपमा पत्ता लगाएको छैन ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपपी तथा प्रवक्ता पवन भट्टराईले शंकास्पद गाडीहरूलाई कार्यालयमा ल्याएर छानबिन गर्ने र सत्यतथ्य पत्ता लगाउने बताएका छन् । कसले किन गर्यो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
मिडियाहरूको आवत जावतमा अवरोध गर्ने गरी शंकास्पद रुपमा पार्किङ गरिएको घटनाको सरोकारवालाहरूले चासो प्रकट गरेका छन्
पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रुपमा गाडी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको उल्लेख गरेको छ ।
आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेटमा शंकास्पद गाडी पार्किङ गरी पत्रकारलाई आवत-जावत गर्न समस्या सिर्जना गरिएको पाइएको छ’ महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा छ,’महासंघ तत्काल गाडीको अवरोध हटाई संचारकर्मी र संचारगृहको सुरक्षा गर्न सम्बद्ध निकायसंग जोडदार माग गर्दछ ।’
महासंघले सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुऱ्याउने यो निन्दनीय र रहस्यमय घटनाको तत्काल छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न ध्यानाकर्षण गराएको छ ।
महासंघ अध्यक्ष निर्मला शर्मा सहितको टोलीले अनलाइनखबर लगायत हाउसमा गएर स्थितिको निरीक्षण गरेको छ । शर्माले घटना शंकास्पद र नियोजित प्रकृतिको भएको भन्दै पत्रकार र मिडिया हाउसको सुरक्षाका विषयमा संवेदनशील हुन सरकारलाई आग्रह गरेकी छन् ।
त्यस्तै अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेतले पत्रकारहरूलाई सुरक्षित रूपमा काम गर्ने वातावरण तयार गर्न भूमिका खेल्नका लागि महासंघको टोलीलाई आग्रह गरेका छन् ।







