जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एकद्वार सेवा प्रणाली लागू गरेपछि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रलगायतका सेवा थप छिटो, व्यवस्थित र नागरिकमैत्री बनेको जनाएको छ।
कार्यालयका अनुसार टोकन प्रणालीसहित सेवा व्यवस्थापन सुधार गरिएकाले आवश्यक कागजात पूरा भएका सेवाग्राहीले २० देखि ३० मिनेटभित्रै सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। एउटै सेवा कक्षबाट कागजात रुजु, परामर्श तथा सेवा प्रवाह हुने भएकाले विभिन्न कोठा धाउनुपर्ने झन्झट हटेको प्रशासनले जनाएको छ।
नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी अधिकांश सेवा एउटै फ्लोरबाट उपलब्ध गराउन थालिएको छ। सेवाग्राहीका लागि सहायता कक्ष, निःशुल्क अनलाइन आवेदन, कागजात परीक्षण, फोटोकपी सेवा, वेटिङ हल, खानेपानी तथा निःशुल्क वाइफाइको समेत व्यवस्था गरिएको छ
प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेको नेतृत्वमा लागू गरिएको यो प्रणालीले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र बिचौलियामुक्त बनाउने विश्वास प्रशासनले व्यक्त गरेको छ। सेवाग्राहीहरूले पनि नयाँ व्यवस्थापछि लामो लाइन बस्नुपर्ने र पटक–पटक कार्यालय धाउनुपर्ने समस्या घटेको प्रतिक्रिया दिएका छन्।






