राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीमा आएको प्राविधिक समस्याका कारण राहदानी विभागमा सेवा लिन पुगेका हजारौं सेवाग्राही प्रभावित भएका छन्।
एनआईडीएमआईएस (NIDMIS) प्रणालीमा समस्या देखिएपछि राहदानी विभागले राष्ट्रिय परिचयपत्र नम्बर प्रमाणीकरण गर्न नसक्दा तत्काल राहदानी बनाउने सेवासमेत प्रभावित भएको हो।
दाङका निराजन शाहीले १२ हजार रुपैयाँ शुल्क तिरेर तत्काल राहदानीका लागि आवेदन दिए पनि एक साताभन्दा बढी समय बित्दा पनि राहदानी प्राप्त गर्न सकेका छैनन्।
पोखराबाट आएका डिलहादुर परियारले पनि दुई सातादेखि राहदानी नपाएको गुनासो गरेका छन्। लामो समय काठमाडौं बस्नुपर्दा आफूले थप आर्थिक भार समेत व्यहोर्नुपरेको उनीहरूको भनाइ छ।
राहदानी विभागमा दैनिक ठूलो संख्यामा सेवाग्राही लाइनमा बसे पनि एनआईडी प्रणालीमा विवरण नदेखिएको भन्दै आवेदन प्रक्रिया रोकिएको छ। यसले सर्वसाधारणलाई सास्ती भोग्न बाध्य बनाएको छ।






