कंचनपुर । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–री हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ।
गत वर्ष कात्तिक १७ गते हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका पाँच विदेशी नागरिकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
स्थानीयले पाँचवटा शव देखिएको जानकारी दिएपछि ड्रिम डेस्टिनेसनले शव सङ्कलन तथा पहिचानका लागि हेलिकोप्टर पठाएको थियो। खराब मौसमका कारण उद्धारमा समस्या भए पनि सोमबार हेलिकोप्टर घटनास्थल पुगेर तीनवटा शव गोंगर ल्याइएको र बाँकी दुई शव ल्याउन हेलिकोप्टर पुनः घटनास्थल गएको प्रहरीले जनाएको छ।
मौसममा सुधार आए सोमबार नै पाँचवटै शव गोंगर ल्याउने तयारी रहेको प्रहरीले जनाएको छ।
गत वर्ष नेपाली तथा विदेशी गरी १५ जना यलुङ–री हिमाल आरोहणका लागि गएका थिए। हिमपहिरोमा परेका आठ जनाको सकुशल उद्धार भएको थियो भने सात जना बेपत्ता भएका थिए। तीमध्ये दुई जनाको शव त्यतिबेलै भेटिएको थियो।
बेपत्ता पाँच जनामा फ्रान्सकी मेनफेडी क्रिस्टिना एन्ड्रे, इटालीका पाउलो कोको र मार्कोस किरचिलर, जर्मनीका ज्याकोब इसरिवर तथा क्यानडाका मार्को डि मारसेलो रहेका थिए।






